तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत तनहुँको दमौलीमा मादीन नदी माथि निर्माण भइरहेको पुलको काम सम्पन्न हुने चरणमा पुगेको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदी पुलको काम हालसम्म ७१ प्रतिशत सम्पन्न भएको हो ।
पुल निर्माण तीव्र गतिमा प्रभावकारी रूपमा भइरहेको मुग्लिन–पोखरा सडक आयोजनाले जनाएको छ । तीन सय १५ मिटर लामो पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले सन् २०२२ अगष्ट ११ मा रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो ।
पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ ।