काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकार अपाङ्गमैत्री र वातावरणमैत्री सडक संरचना बनाउन लागिरहेको बताएका छन् । पूर्वाधार विकास समितिको शुक्रबारको बैठकमा बोल्दै मन्त्री दाहालले संविधान र मन्त्रालय पनि अपाङ्गमैत्री र वातावरणमैत्री सडक संरचना बनाउने तर्फ ध्यान दिइरहेको जानकारी दिएका हुन् ।
उनले ठाउँ–ठाउँमा लिफ्टको व्यवस्था गर्ने, आकाशे पुल बनाउने कुरामा मन्त्रालयले योजनाबद्ध रूपमा काम गरिरहेको समेत बताए ।
मन्त्री दाहालले भने, ‘विस्तारै विस्तारै हामीले हाम्रो संविधानमा पनि र हाम्रो मन्त्रालयकै पनि वातावरणमैत्री, डिसेबलमैत्री सवारी संरचनाहरु बनाउनुपर्छ भन्ने छ । त्यो गर्दा हामीले लिफ्टको पनि कुरा अघि सारेका छौं । ठाउँ–ठाउँमा ज्येष्ठ नागरिकहरूको लागि लिफ्ट राखेर आकाशे पुलबाट क्रस गर्ने योजना छ । एड्भान्स लिफ्ट नै राख्ने प्रस्ताव गरेका छौँ । दातासँग अनुरोध गरेका छौँ ।’