काठमाडौं । चीनले रसुवागढी नाकामा अस्थायी पुल बनाउने भएको छ ।
बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि चीनका राजदूत चेन सङबिचको भेटवार्तामा राजदूत सङले रसुवागढी नाकामा अस्थायी पुल बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
भेटमा बाढीबाट क्षतिग्रस्त स्याफ्रुबेसी–रसुवागढी सडक तथा सीमा पुल निर्माण लगायत विषयमा छलफल भएको थियो।
भेटमा क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणमा चिनियाँ पक्षले चासो देखाएको मन्त्रालयले जनाएको छ । सीमा पुल भएको स्थानमा जतिसक्दो छिटो अस्थायी पुल बनाउन चिनियाँ पक्षबाट प्रतिबद्धता आएको मन्त्रालयले उल्लेख गरेको छ ।
चिनियाँ सहयोगमा सञ्चालित अन्य आयोजना टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमिकोट सडक, खाँदबारी–किमाथांका सडक लगायत विषयमा पनि छलफल भएको थियो । छलफलमा राजदूत सङले काठमाडौ–चक्रपथ दोस्रो खण्ड विस्तारको काम छिटै सुुरु हुने बताए ।