काठमाडौं । सङ्खुवासभाको चैनपुरमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उक्त कार्यालयको उद्घाटन गरेका हुन् ।
कार्यालयको उद्घाटनका क्रममा मन्त्री खड्काले जिल्लामा भारतीय लगानीका ठूला जलविद्युत् आयोजना सञ्चालनमा रहेको उल्लेख गर्दै दुवै छिमेकी मुलुकसँग सन्तुलित र सुमधुर सम्बन्ध कायम राख्नुपर्नेमा जोड दिए।
मन्त्री खड्काले चैनपुरको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले पानीको स्रोतहरूको दिगो उपयोग गर्दै कृषि उत्पादनमा वृद्धि गर्ने लक्ष्य लिएको बताए । यो आयोजनाले सङ्खुवासभासहितका चार जिल्लामा प्राविधिक, व्यवस्थापकीय र सामाजिक पक्ष समेटेर काम गर्ने जानकारी पनि दिए।
उनले ऊर्जा क्षेत्रमा मन्त्रालयले ८० प्रतिशत काम सम्पन्न गरिसकेको दाबी गर्दै अबको ध्यान विकास र समृद्धितर्फ केन्द्रित हुने बताए ।