काठमाडौं । पोखरा–मुुग्लिन सडक आयोजनाअन्तर्गत कास्कीको विजयपुर खोला पुलको काम हालसम्म आधा भन्दा बढी सम्पन्न भएको छ । पुलको हालसम्मको भौतिक प्रगति ६० प्रतिशत पुगेको हो ।
विजयपुर पुल पाँचदेखि छ महिनामा सम्पन्न हुने आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए ।
पोखरा–मुुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)मा ११ पुल निर्माण सम्पन्न भइसकेका छन् । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो ।
विजयपुर र सेती पुल भने निर्माणाधीन अवस्थामा छन् । आगामी भदौमा तीनवर्षे ठेक्का अवधि सकिन लागेको सेती पुलको भौतिक प्रगति पनि न्यून देखिएको छ । विसं २०७९ साउनमा रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो । पुलको डिजाइन स्वीकृतदेखि मापदण्डभित्रका संरचना हटाउनेसम्मका काममा ढिलाइ भएकाले पुल समयमै बन्न नसकेको प्रमुख कुँवरले बताए ।