संखुवासभाको चैनपुर नगरपालिका –१ र मादी नगरपालिका–९ जोडने पुलको उद्घाटन भएको छ । शनिबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पुलको उद्घाटन गरेका हुन् ।
उद्घाटनका क्रममा मन्त्री खड्काले पुल सञ्चालनपछि स्थानीयलाई चैनपुरसम्म आउनजान सजिलो र अब किसानले उत्पादन गरेका कृषि उपजले पनि बजार पाउने बताए ।
चैनपुर र मादी जोड्ने यावरा खोलामा ६३ मिटर लामो पुल निर्माण गरिएको हो । २०७३ भदौ २८ बाट निर्माण थालिएको पुल २०७९ पुस १२ मा निर्माण सम्पन्न हुनुपर्ने थियो । ठेकेदारको लापरबाहीका कारण झन्डै ३ वर्षपछि सम्पन्न भएको हो । पुल निर्माण गर्न ७ करोड १९ लाख ६५ हजार खर्च भएको डिभिजन सडक तुम्लिङटारले जनाएको छ । पुल निर्माणको जिम्मा कुन्सालिङ निर्माण सेवा भोजपुरले लिएको थियो ।