काठमाडौं । संखुवासभाको धर्मदेवी–४ र मादी नगरपालिका–६ जोड्ने पक्की पुलको आज उद्घाटन भएको छ । शनिबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पुलको उद्घाटन गरेका हुन् ।
पुल सञ्चालनपछि स्थानीयलाई चैनपुरसम्म आउनजान सजिलो हुनेछ र अब किसानले उत्पादन गरेका कृषि उपजले पनि बजार पाउने मन्त्री खड्काले बताए ।
मायाखोलामा ६३ मिटरको पुल बनेको हो । २०७४ भदौ २४ बाट निर्माण थालिएको पुल २०७६ फागुन २ गते सम्पन्न हुनुपर्ने थियो । ठेकदारकै कारण यो पुल पनि झन्डै साढे ३ वर्षपछि निर्माण सम्पन्न गरिएको हो ।
पुल निर्माणका लागि ६ करोड २५ लाख ३९ हजार लागत लागेको छ । पुल निर्माणको जिम्मा बीटी निर्माण सेवाले लिएको थियो ।