काठमाडौं । संघीय खानेपानी मन्त्री प्रदीप यादवले सबै नागरिकमा शुद्ध र स्वच्छ खानेपानीको पहुँच पुर्याउन आफू क्रियाशिल रहेको बताएका छन् ।
शनिबार सुनसरीस्थित ‘झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजना’ को उद्घाटन कार्यक्रममा मन्त्री यादवले आफुैले आफ्नो जिम्मेवारी सम्हालेदेखि नै हरेक नागरिकलाई शुद्ध र स्वच्छ खानेपानीको पहुँच पुर्याउने योजना अनुसार काम गर्न क्रियाशिल रहेको बताएका हुन् ।
मन्त्री यादवले देशका सबै समुदायलाई समान रूपमा सेवा पुर्याउने र कसैलाई पनि पछाडि नपार्ने नीति प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको दीर्घकालीन दृष्टिकोण भएकाले विकासमा समावेशी दृष्टिकोणलाई संस्थागत गरिने बताए ।
‘कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट उद्देश्य छ । देशका हरेक नागरिकको आधारभूत अधिकार सुरक्षित खानेपानी र सरसफाइ पहुँच सुनिश्चित गर्नु हाम्रो प्रमुख लक्ष हो,’ उनले भने ।
यसैगरी मन्त्री यादवले खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तर सुधार गर्ने सरकारको प्रयास निरन्तर जारी रहेको बताउँदै झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजनाले विकासको सम्भावना र नागरिकको चाहनालाई मूर्तरूप दिने विश्वास व्यक्त गरे ।