काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले खानेपानी सङ्कट मधेस प्रदेशको मात्र समस्या नभएर सबैको साझा चुनौतीको विषय भएको बताएका छन् ।
पर्सास्थित ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको ‘निर्मल बस्ती खानेपानी आयोजना’ उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले मधेस प्रदेशका आठ जिल्लाको खानेपानी सङ्कट समस्या समाधानका लागि सबै क्षेत्रको हातेमालोसँगै साझा जिम्मेवारी आवश्यक रहेको बताएका हुन् ।
“तराई–मधेसका जिल्लामा खानेपानीको गम्भीर सङ्कट उत्पन्न भएको छ, अब सहानुभूति होइन, साझा जिम्मेवारी आवश्यक छ”, उनले भने, “खानेपानी सङ्कट मधेस प्रदेशको मात्र समस्या होइन, यो हाम्रो साझा चुनौती हो । सङ्कट समाधानका लागि सबैले हातेमालो गर्ने बेला आएको छ ।”
त्यसैगरी मन्त्री यादवले तराई–मधेसमा विकराल समयमा पनि आफूसहित सिङ्गो मन्त्रालय नागरिकका मौलिक अधिकारका रूपमा स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न अहोरात्र खटिएको जानकारी गराए ।