कास्की। कास्की जिल्लाको घट्टेखोला–धम्पुस–खानीगाउँ सडक कालोपत्रे गर्न लागिएको छ । सडक कालोपत्र गर्नका लागि शुक्रवार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शिलान्यास गरेका छन् ।
ट्र्याक खुलेको २१ वर्षपछि नेपाल सरकार र एसियाली विकास बैंकको सहयोगमा उक्त सडक कालोपत्र हुन लागेको हो ।
मन्त्रालयअन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार आयोजनाबाट कार्यान्वयन भइरहेको सडक निर्माण दुई वर्षभित्र सक्ने लक्ष्य छ । सडक निर्माणका लागि एमएस इकेके–एमसीएसपीएल–बीबीआर जेभी र आयोजनाबीच ०८१ फागुन २१ मा ३० करोड १८ लाख रुपैयाँमा सम्झौता भएको थियो । माछापुच्छ्रे गाउँपालिका–७ मा पर्ने यस सडकको लम्बाइ १३.३ किलोमिटर छ । यसमध्ये पहिलो ७ किलोमिटरसम्म अस्फाल्ट र बाँकी डीबीएसटी प्रविधिबाट कालोपत्रे गरिने आयोजनाले जनाएको छ । यो सडकको ट्र्याक ०६१ सालमा खुलेको थियो ।