काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले थानकोट–चित्लाङ सडकको निरीक्षण गरेका छन् । मन्त्री दाहालले बिहीवार उक्त सडकको स्थलगत निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा उनले उक्त सडकको स्तरीकरणलाई गति दिन निर्देशन समेत दिएका छन् । उनले काठमाडौँ जोड्ने छोटो मार्गका रूपमा रहेको थानकोट–चित्लाङ खण्ड आर्थिक विकास र समृद्धिको सहयोगी बन्ने बताए ।
यो सडकले मकवानपुरको कृषि उपज काठमाडौंसम्म लैजान तथा पर्यटकीय क्षेत्रको विकास गर्न समेत सहयोग पुर्याउने भएकाले यसले आर्थिक विकासलाई पनि टेवा पुर्याउने उनले विश्वास व्यक्त गरे ।
निर्धारित समयमा काम पूरा गर्न सडक विभागलाई निर्देशन दिँदै उनले कुनै पनि आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न आग्रह गरे ।
मन्त्री दाहालले विकासका संरचनाले नागरिकको जीवनमा समृद्धि ल्याउन सक्नुपर्ने धारणा राख्दै यो सडकसमेत आर्थिक विकासका दृष्टिकोणले महत्त्वपूर्ण रहेकाले निर्माणमा तदारुकता दिनुपर्ने बताए ।