काठमाडौं । पर्यटन क्षेत्रको दीर्घकालीन तथा समावेशी विकासका लागि आरोग्य पर्यटन प्रवर्द्धनका लागि रणनीतिक अवधारणापत्र तयार गरिने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको राष्ट्रिय पर्यटन परिषद् प्रथम बैठकले आरोग्य पर्यटनलाई प्राथमिकतामा राख्दै नीतिगत संरचना विकास गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
स्वास्थ्य, वातावरण, पर्यटन, शिक्षा तथा स्थानीय तहका प्रतिनिधि रहने गरी उपसमिति गठन गर्दै उक्त अवधारणा निर्माण प्रक्रियालाई औपचारिकता दिने निर्णय भएको सहसचिव इन्दु घिमिरेले जानकारी दिइन् ।
आरोग्य पर्यटन सम्बन्धी रणनीतिक अवधारणापत्र तयार गर्न पर्यटन महाशाखा प्रमुखको संयोजकत्वमा १३ सदस्यीय उपसमिति गठन गरिएको छ ।