रुपन्देही। रुपन्देहीको मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष यादवविरुद्ध तीन लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले अध्यक्ष यादवसहित सिद्धार्थनगर नगरपालिका–९ का विपिन कुमार पाण्डेविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार वडाध्यक्ष यादवले विभिन्न योजनाको भुक्तानी सिफारिस गर्न सेवाग्राहीसँग ३ लाख रुपैयाँ घुस मागेका थिए। यादवले घुसबापतको रकम गणेश ट्रेडिङका सञ्चालकका छोरा विपिन पाण्डेमार्फत लिइसकेको अवस्थामा अख्तियारको टोलीले दुबै जनालाई नियन्त्रणमा लिएको थियो।
आ.ब. २०८१र०८२ मा “सिसु सेमरा दक्षिण धोबहिया छठ घाट निर्माण”, “पुर्निकोट गाउँभित्र सडक पी.सी.सी. ढलान” र “सुरहवाँ गाउँभित्र सडक पी.सी.सी. ढलान” कार्य योजनाहरूको काम सम्पन्न भई सिफारिस दिने कार्यमा यादवले पाण्डेमार्फत सेवाग्राहीबाट घुस रकम लिएको आयोगले जनाएको छ ।