काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालगञ्ज र भारतको नयाँ दिल्ली सिधा उडानको एजेण्डालाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन् ।
सोमवार बाँकेका प्रमुख राजनीतिक दलका नेता, संघीय संसद्मा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवं अन्य सरोकार भएकाहरूसँग मन्त्री राणाले यस्तो बताएकी हुन् ।
उनीहरुले नेपालगञ्ज दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गरेपछि मन्त्री राणाले भनिन्, ‘सो उडानका लागि मैले पहिलेदेखि नै पहल गरिआएकै छु । नेपालगञ्ज दिल्ली उडानको एजेण्डालाई हामी प्राथमिकतामा राखेका छौँ । यो उडानले नेपाल र भारतलाई नै पारस्परिक लाभ पुग्ने र कनेक्टिभिटी जति बढाउन सक्यौँ त्यति धेरै नेपाललाई फाइदा पुग्ने भएकाले म यो उडानका लागि लागिपर्नेछु ।’
उनले नेपाल र भारतका बीचमा कनेक्टिभिटी बढाउन सक्दा मात्र पर्यटन, पारवहन, उद्योग व्यापार तथा जनसम्पर्क लगायतमा वृद्धि हुने र यसबाट दुवै पक्षलाई लाभ पुग्ने बताइन् ।
यो उडानले पश्चिम नेपालको अर्थतन्त्रमा उल्लेख्य योगदान पुग्ने र त्यस क्षेत्रको मुहार नै फेरिने बताउँदै मन्त्री डा।राणाले नेपालगञ्जमा पनि होटल लगायतका आवश्यक पर्यटन पूर्वाधारहरू बनिसकेकाले नेपालगञ्ज दिल्ली उडानका लागि आफू गम्भीरताका साथ लाग्ने बताइन् ।