सप्तरी । सप्तरीको राजविराज–छिन्नमस्ता–गोविन्दपुर सडकको निर्माण कार्य सञ्चालनका लागि दबाब दिन पूर्वमन्त्रीसहित स्थानीयले मैनबत्ती बालेर प्रदर्शन गरेका छन् । उनीहरुले सोमवार बिहान छिन्नमस्तादेखि विसनपुर चोकसम्म नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।
पूर्वसिँचाइ मन्त्री उमेशकुमार यादव समेत सहभागि रहेको प्रदर्शन कार्यक्रममा ‘कहाँ छ सरकार, कहाँ छ ठेकेदार ?’ नारा लगाइएको थियो । प्रदर्शनका क्रममा पूर्वमन्त्री यादवले सडक डिभिजन कार्यालय लहानको वेवास्ता, सांसद र सरकारको बेमतलबका कारण नागरिकले दुख पाएको बताए ।
चार वर्षअघि नै ठेक्का लिएर ठेकदार बेपत्ता हुँदा सडकमा जताततै खाल्डाखुल्डी परेर हिँड्न समेत अप्ठ्यारो हुने गरेको उनीहरुको भनाइ छ ।
२०७९ असार २३ मा साह इन्जिनियरिङ कन्सट्र्रक्सनले सो सडक निर्माण सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८१ असार ३० मा नै सडक निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, सो अवधिमा कन्सट्र्रक्सनले सडक निर्माण गर्न सकेन । पुनः एक वर्षको म्याद थपेर २०८२ असार १५ सम्म पुर्याउँदा पनि अहिलेसम्म २० प्रतिशतभन्दा बढी काम हुन सकेको छैन ।