कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको मुख्य सडकमा सौर्यबत्ती जडान गरिएको छ । उज्यालो भीमदत्त बनाउने अभियानअनुसार पालिकाले पूर्व–पश्चिम राजमार्गमा १ सय १५ वटा सडकबत्ती जडान गरेको हो ।
सौर्यबत्ती जडानका लागि रु ६९ लाख ७४ हजारमा ठेक्का सम्झौता भएको थियो ।पालिकाले दोस्रो चरणमा रु २२ लाख ८२ हजार ४२० मा ठेक्का सम्झौता गरेको छ । जसअन्तर्गत गड्डाचौकीबाट भुजेलासम्म ३० वटा सडकबत्ती जडान भइसकेका नगरपालिकाले जनाएको छ ।
एसियाली विकास बैंकको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत महेन्द्रनगर बजारलाई आधुनिकीकरण गरिएका हो । आयोजनाको पहिलो चरणअन्तर्गत रु एक अर्ब लागानीमा आधुनिक सडक निर्माणसँगै नगर क्षेत्रमा ‘हाइमास्टलाइट’ जडान गरिएको नगरका सब–इञ्जिनियर पवन लेखकले जानकारी दिए।
“नगरका मुख्य सडकमा ७७६ वटा लाइट जडान भएका छन्”, उनले भने, “बजारमा मात्रै आठ वटा हाइमास्टलाइट जडान गरिएका छन् ।” उनले बजार सौन्दर्यकरणका लागि गल्लीमा रहेका बिजुलीका खम्बा र टेलिफोनका तार गल्लीको पछाडि भागमा व्यवस्थित गर्न लागिएको बताए ।