म्याग्दी । बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातीको समयमा सवारीसाधन सञ्चालन गर्न रोक लगाएको छ । पहिरोका कारण जोखिमयुक्त सडकमा आज साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।
जिल्ला सुरक्षा समिति म्याग्दी र मुस्ताङको निर्णयअनुसार बर्सातको समयमा पहिरोको जोखिम भएकाले रातिको समयमा यात्रा गर्न रोक लगाइएको हो ।
स्थानीय प्रहरीचौकीमार्फत दुई जिल्लाले समन्वय गरेर निर्णय कार्यान्वयन गरिने छ ।
रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–२ भुरुङभिर, ३ गुइठेभिर, सुकेबगर र काभ्रेभिरमा पहिरो खस्ने समस्या छ । बेनी–जोमसोम सडक स्तरोन्नति अन्तिम चरणमा छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले पहिरो पन्छाउने र यातायात सञ्चालन गर्दै आएको छ ।