काठमाडौं । रक्षामन्त्री मानवीर राईले काठमाडौं—तराईरमधेश द्रूतमार्गको काम ०८३ भित्रै नसकिएपछि मेलम्ची खानेपानी आयोजना जति नलम्बिने बताएका छन् । बिहीबार सिंहदरबारमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भएको छलफलमा मन्त्री राईले यस्तो बताएका हुन् ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री राईले अहिले सरकार फास्ट ट्रयाकमा केन्द्रित रहेको र नेपालमा अन्तर्राष्ट्रिय स्तरको बाटो बनिरहेको समेत बताए ।
मन्त्री राईले भने, ‘०८३ साल नआइकन सकिँदैन भन्न त नमिल्ला, निकै कठिन भएको छ । तर म यति भन्न चाहन्छु, मेलम्चीको आयोजना जति लम्बिँदैन । यति धेरै लामो समय लाग्दैन ।’
सडक निर्माणका क्रममा नेपालमा जमिनको समस्या हुने गरेको बताउँदै उनले अन्य देशहरूमा जमिन सरकारको नाममा हुने भएकाले कुनै समस्या नहुने भए पनि नेपालको हकमा त्यस्तो नहुने बताए ।
नेपालमा व्यक्तिको नाममा जमिन हुँदा विभिन्न अवरोधहरू हुने गरेको उनले समितिको बैठकमा भने ।