काठमाडौं । सरकारद्वारा गठित उच्च आयोगले सौर्य एयरलाइन्सको जहाज दुर्घटना मानवीय त्रुटिबाटै भएको निष्कर्ष निकालेको छ । सौर्य एयरलाइन्स दुर्घटना जाँचबुझ आयोगका अध्यक्ष एवं नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशलाल सुमनले आज प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा यसबारे जानकारी दिँदै दुर्घटनाको कारण मानवीय त्रुटि भएको बताएका हुन् ।
उनले जहाज दुर्घटनाको कारण पत्ता लगाउन ‘ह्युमन फ्याक्टर, सेफ्टी म्यानेज्डमेन्ड सिस्टमका बारेमा धेरै अध्ययन गरिएको बताए ।
उनले भने, ‘यो जहाज सुरुमा रनवेमा दाहिने पखेटा ठोक्किँदा त्यसपछि खसेर जाँदा एयर डाइनेस्टी हेली सर्भिसको कन्टेनरमा ठक्कर लागेको देखिन्छ । कन्टेनरमा ठक्कर लागिसकेपछि पल्टियो । त्यस बेलामा उसको ककपिट भाँचिएर खाल्डोमा झरेको देखिन्छ । त्यही ककपिटमा तीन जना पर्नुभयो । जसमा क्याप्टेन, कोपाइलट र इन्जिनियर हुनुहुन्थ्यो । त्यही कक्पिटबाट एक जना इन्जिनियर आफैँ जीवितै निस्कनुभएको थियो । त्यसपछि प्रहरीहरूले उहाँलाई बचाएर बाहिर ल्याउनुभएको थियो । त्यति बेला अरू दुई जना पनि जीवित हुनुहुन्थ्यो ।’
उनले थपे, ‘मैले भने उहाँहरूलाई पनि बचाउनुहोस् तर ढिला भयो उहाँहरू दुई जनालाई बचाउन सकिएन । रेस्क्यूतर्फ पनि हामीले धेरै खोतल्यौँ अध्ययनका क्रममा जसबाट धेरै कुरा पत्ता लाग्यो । जहाज दुर्घटना हुँदा एयर डाइनेस्टीको कन्टेनरसँगै एयरपोर्टको केही पूर्वाधारलाई क्षति गरेको थियो । जहाजमा क्याप्टेन ६ हजार ८५ घण्टा उड्नु भएको छ । ४ हजार ९ सय २२ घण्टा यही किसिमको जहाज उडाउनुभएको छ । मानवीय त्रुटिको कुरा गर्दा पाइलटको डियूटी टाइम हेरिएको थियो, जसमा ७ दिनमा ४ घण्टा ४० मिनेट उड्नुभएको देखिन्छ । पाइलट त्यस बेला धेरै उड्नु भएको थिएन भन्ने देखिन्छ । थकान धेरै थियो भन्ने त्यस्तो देखिन्न ।’
उनकाअनुसार दुर्घटनाग्रस्त जहाज क्यानडामा बनेको जहाज थियो । सन् २००३ मा निर्माण भएको उक्त जहाजमा दुई ओटा इन्जिनहरू थिए । यो जहाज दुर्घटना हुँदा मौसम एकदमै ठिक रहेको थियो । दुर्घटनामा मौसमको कुनै पनि भूमिका देखिँदैन । जहाजमा त्यस्तो खालको टेक्निकल खराबीहरू देखिँदैन ।