दोलखा । दोलखाको बिगुु गाउँपालिका–१ लामाबगरमा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको जलासय सफा गरिने भएको छ । शनिवार बिहान ५ बजेदेखि राति ८ बजेसम्म जलासय सफा गर्न लागेको आयोजनाले जनाएको हो ।
जलासय सफा गर्ने क्रममा माथिल्लो तामाकोशी नदीमा पानीको सतह घटबढ हुने भएकाले नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आयोजनाले आग्रह गरेको छ ।
जलविद्युत् केन्द्रको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले वर्खाको समयमा बाढीका कारण जलासयमा बालुवा, गिट्टी थुप्रिएकाले सफा गर्न लागिएको जनाएको छ। सरसफाइ अवधिभर तामाकोशी नदिमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटीबालुवा निकाल्ने, गाडी तार्ने जस्ता कार्य नगर्न र नगराउन जलविद्युत् केन्द्रले आग्रह गरेको छ ।
केन्द्रले लामाबगर, छ्योतछ्योत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सुनकोशी नदीको दोभानसम्म सतर्कता अपनाउन आग्रह गरेको हो ।