कैलाली। भजनी नगरपालिकामा रहेको कान्द्रा नदीको पुल आठ वर्षदेखि अलपत्र अवस्थामा छ। चार वर्षमा सक्ने सम्झौता भइ निर्माण शुरु गरिएको पुल ८ वर्षमा पनि सम्पन्न नभएको हो।
निर्माण व्यवसायीको लापरबाहीका कारण पुल बन्न नसकेको हुलाकी सडक आयोजनाले जनाएको छ। पुलको एउटा पिल्लरको डिजाईन परिवर्तन गरिनु पर्ने भएपछि सडक आयोजनाले नै एक वर्ष म्याद थप गरेको तर त्यस समयमा निर्माण कम्पनीले पुल निर्माण सम्पन्न गर्न नसकेको आयोजनाको भनाइ छ। त्यसपछि दुई पटक म्याद थप गर्दा समेत पुल निर्माण कार्य पूरा हुन सकेको छैन।
०७१ सालमा हुलाली सडक आयोजना र लामा, साल्पा छर्पा कन्ट्रक्सन जेभिबीच चार वर्षमा पुल निर्माण गरीसक्ने गरी सम्झौता भएको थियो। चार करोड ४२ लाखमा ठेक्का पाएका भएको पुल असार ०७५ सम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता भएको थियो।
तोकिएको मितिमा पुल नबनेपछि अन्तिम पटकका लागि चैत ०७८ सम्मका लागि पुल निर्माण म्याद थप गरेको छ। सो समयमा पुल निर्माण नभए ठेक्का सम्झौता तोडिने र ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न प्रक्रिया अगाडि बढाइने बताइएको छ।