काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र टिकटकबीच संयुक्त साझेदारीको घोषणा गरिएको छ। नेपालका अद्वितीय भौगोलिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक अनुभवलाई विश्वभरका दर्शकमाझ पुर्याउने उद्देश्यले सम्झौता भएको हो।
यस पहलको केन्द्रमा ‘#LifetimeExperience’ नामक अभियान रहनेछ, जसलाई क्रिएटरहरूले नेतृत्व गर्नेछन्। यसअन्तर्गत इन-एप विशेष सुविधामार्फत यात्रुहरूलाई नेपालका घुम्नैपर्ने गन्तव्य तथा कम प्रचारित आकर्षक स्थानहरूबारे जानकारी दिलाइनेछ।
बोर्ड र टिकटकले स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ट्राभल क्रिएटरहरूसँग सहकार्य गर्नेछन्। उनीहरूलाई नेपाल भ्रमणमा निम्त्याई छोटा आकर्षक भिडियोमार्फत नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, चाडपर्व, कला, खानपान र सामुदायिक परम्परालाई विश्वसामु प्रस्तुत गरिनेछ। पर्यटन बोर्डले आगन्तुक क्रिएटरहरूको नेपाल बसाइ सहज होस् भनेर यात्रा, आतिथ्य तथा विज्ञ मार्गदर्शनको व्यवस्था गर्ने बताइएको छ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले यो साझेदारीलाई नेपाल प्रवर्द्धनमा नयाँ अध्यायको सुरुवात भनेका छन्।