काठमाडौं । मेची राजमार्गअन्तर्गत पाँचथर खण्डको हेंवा खोलामा निर्मित मोड्युलर ब्रिज उद्घाटन गरिएको छ ।संघीय सरकारअन्तर्गत सडक डिभिजन इलामले निर्माण गरेको पुल भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बुधबार संयुक्त रुपमा गरेका हुन् ।
हेंवा खोलाको पक्की पुल २०८० असार २ को बाढीले बगाएको थियो । त्यसपछि संघीय सरकारले २९ दिन लगाएर बेलिब्रिज बनाएकोमा सो पनि २०८१ असोज १२ गते बाढीले बगाएपछि दोस्रो पटक जोडिँदै गरेको मोडुलर ब्रिज गत जेठ ३१ गते जोडिसक्न लाग्दा भाँचिएको थियो । त्यसक्रममा ३ जना श्रमिकको निधन हुनका साथै ३ जना घाइते भएका थिए ।
बाढीले पुल बगाएपछि हेंवा खोला क्षेत्रको यातायात अस्तव्यस्त थियो । पानी नपर्दा डाइभर्सनबाट गाडी आउजाउ गरे पनि बाढी आउनासाथ अवरुद्ध हाँक्दा यात्रुले कष्ट व्यहोर्नु परेको थियो । उद्घाटन गरिएसँगै पुलबाट सवारी आवागमन खुला गरिएको छ ।
पुल उद्घाटन गर्दै मन्त्री दाहालले बाढी र पहिरोले पुलपुलेसा बगाउँदा समग्र मुलुकको विकास प्रक्रियामा धक्का लागेको बताए । बाढी पहिरोपीडित र प्रभावितको पुनः स्थापना र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।