काठमाडौं। बागमती प्रदेश अन्तर्गत दोलखाको तामाकोशी गाउँपालिका–१ भिरकोटमा चारधाम मन्दिर निर्माण हुने भएको छ। सो मन्दिर निर्माण तामाकोशी गाउँ कार्यपालिकाको कार्यलय जफ दोलखाले निर्माण गर्ने भएको हो।
पछिल्लो समय धार्मिक क्षेत्रमा पर्यटकको चहलपहल बढ्दै गएको हुनाले सो गतिविधिलाई नियाल्दै तामाकोशी गाउँपालिकाले चारधाम मन्दिर निर्माण कार्यलाई जोड दिएको हो। यसैगरी पर्यटकको आकर्षण बढाउने उद्देश्यले सो क्षेत्रमा पूर्वाधार निर्माणलाई जोड दिइएको छ।
जिल्लाको धार्मिक पर्यटनलाई केन्द्रमा राखेर गाउँपालिकाले चारधाम सहितको मन्दिर निर्माण प्रक्रियालाई अघि बढाएको हो। उक्त धाममा विभिन्न देवि देवताको मूर्तिहरु निर्माण गर्ने योजना रहेको छ। जसले धार्मिक पर्यटकलाई आकर्षण गर्ने गाउँपालिकाको विश्वास रहेको छ। यस कार्यले दोलखाको धार्मिक क्षेत्रको विकासमा पनि टेवा पुग्ने छ। गाउँपालिकाले चारधामा मन्दिर निर्माणको लागि ठेक्का आह्वान गरिसकेको छ। ठेक्का प्रक्रिया पुरा भएलगत्तै मन्दिर निर्माण प्रक्रियालाई तिव्रता दिने गाउँपालिकाको योजना रहेको छ। चारधाम मन्दिर निर्माणको अनुमानित लागत ३५ लाख ८२ हजार ६६५ रहेको छ।
पर्यटकीय गतिविधि बढाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोलखाको विभिन्न स्थानमा पछिल्लो समय पूर्वाधार निर्माण कार्य भइरहेको छ। यसै अनुसार धार्मिक पर्यटन विकासको लागि पनि पालिकाले मन्दिर निर्माण गर्न लागेको छ। मन्दिर एउटा पवित्र धार्मिक स्थलको धरोहर भएकाले यस क्षेत्रमा शान्तिको प्रत्याभुति पनि गर्न सकिन्छ। त्यसैले यस्ता पवित्र धार्मिक स्थलको निर्माण तथा संरक्षणमा सबैको सहयोग आवश्यक रहेको छ।