काठमाडौं । कांग्रेस सांसद अर्जुननरसिंह केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता र भ्रष्टाचारको छानबिन गरी संलग्नलाई निलम्बन र कारबाही गर्नका लागि सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलमा भएको भ्रष्टाचारको छानबिन नगरी संलग्नलाई जोगाइएको हो कि भन्ने आशंका पुष्टि हुन लागेको समेत बताए ।
सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारका सम्बन्धमा तयार पारेको प्रतिवेदन कार्यान्वयन नगर्दा भ्रष्टाचारीको संरक्षणमा सरकारकै संलग्नता आशंका पुष्टि भएको आरोप केसीले लगाए ।
सांसद केसीले लेखा समितिको प्रतिवेदन कुनै व्यक्तिको निष्कर्ष नभई समितिको आधिकारिक निर्णय भएको बताए । त्यसलाई बेवास्ता गर्नु संसदीय समितिको मर्यादामाथि प्रश्न उठाउने काम हुने पनि उनको भनाइ थियो ।