काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले हुलाकी राजमार्ग नबनाउने हो भने सो क्षेत्रका जनतासँग कर नलिन सरकारसमक्ष माग गरेका छन् । सरकारले हुलाकी राजमार्ग निर्माणको लागि ढिलासुस्ती गरेको भन्दै साहले यस्तो आक्रोश पोखेका हुन् ।
प्रतिनिधि सभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै साहले १८ वर्षअघि सुरू भएको हुलाकी राजमार्ग अलपत्र पारिएको भनेर सरकारसँग असन्तोष प्रकट गरे । उनले भने, ‘सम्माननीय सभामुख महोदय, हुलाकी सडकअन्तर्गत पर्ने बागमती खोलाको पुल कमला खोलाको पुल, कन्कार्ई खोलाको पुलहरु वर्षौसम्म अलपत्र छन् । तीन वर्षमा बनाउनुपर्ने पुल, आज १५ वर्ष पुग्दा पनि किन नबनाएको भनेर सरकारसँग सोध्न चाहन्छु । हुलाकी सडक राष्ट्रिय गौरवको आयोजना हो । यो सडकमा झण्डै करोडौं मान्छे जोडिएका छन्, ठूलो जनसंख्यालाई लाभ दिने यो महत्वपूर्ण सडकमा किन विभेद गरियो ? नेताजीहरूको क्षेत्रमा सडक चकाचौद भैराख्दा झण्डै १८ वर्षअघि सुरु भएको यो सडक किन अलपत्र छ ?’
साहले यस सडकअन्तर्गत कयौं पुलहरुमा अझै ठेक्का नभएको आरोप लगाए । उनले थपे,‘ठेक्का भएका पुलहरु १५ वर्षसम्म, बाग्मती नदीको पुल त आजभन्दा १६ वर्षअघि शिलान्यास भएको हो । तर, अहिलेसम्म अलपत्र छ । कमला नदीको पुल पनि झण्डै १४ वर्ष भयो, कन्काई नदीको पुल झण्डै १२ वर्ष भयो। तीन वर्षको लागि ठेक्का सम्झौता भएका पुल किन बनेनन् ? ठेकेदारलाई किन कारबाही भएन? नेताजीहरुको यसमा कुनै स्वार्थ छैन, मन्त्रीहरुको यसमा लेनदेन छैन भने ती ठेकेदारलाई किन कारबाही भएन ? ठेकेदारले समयमा काम नगर्दा उसको धरौटी किन तानिएन ? किन उसलाई सरकारले कारबाही गर्न सकेन भन्ने प्रश्न उठ्छ ।’