मोरङ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मोरङको मिक्लाजुङ गाउँपालिकास्थित मिक्लाजुङ अस्पताललाई व्यवस्थित ल्याब उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन ।
शनिवार मिक्लाजुङमा सम्पन्न मधुमल्ला बाल अस्पतालको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विश्व स्वास्थ्य संगठनसँग सम्झौता भएका एक सय ल्याबमध्ये एउटा ल्याब मिक्लाजुङ अस्पताललाई दिने घोषणा गरेका हुन् ।
उनले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारलाई सरकारको प्राथमिकता भएको उल्लेख गर्दै मधुमल्ला अस्पतालले दिइरहेको गुणस्तरीय सेवाप्रति प्रशंसा गरे ।
कार्यक्रममा मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राईले अस्पतालमा दन्त उपचार सेवा शीघ्र सुरु हुने जानकारी दिए। आवश्यक उपकरण र सामग्री तयारी भइसकेकाले सेवा चाँडै सञ्चालन हुने उनको भनाइ थियो। त्यस्तै, उपाध्यक्ष दिनेश पौडेलले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिका अघि बढिरहेको र यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
सोही अवसरमा मधुमल्ला अस्पतालका लागि जग्गा दान गर्ने दाताहरुलाई सम्मान गरिएको थियो। संघीय मन्त्रालय र गाउँपालिकाको संयुक्त अनुदानमा करिब १ करोड ९८ लाख ६१ हजार रुपैयाँ लागतमा निर्माण भएको बालमैत्री अस्पताल भवन हस्तान्तरणसँगै स्थानीय स्तरमा स्वास्थ्य सेवा सुदृढीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।