काठमाडौं। दोलखाको ऐतिहासिक गढीको संरक्षण तथा सम्वद्र्धनका लागि सुविधासम्पन्न पैदल मार्ग निर्माण सुरु गरेको छ। तामाकोशी गाउँपालिकाको ७ वटै वडाको संगम स्थलका रूपमा रहेको उक्त गढी संरक्षणका लागि कालीदेवी मन्दिर–देउरालीगढी–हिले गढीसम्मको करिब १५ किलोमिटर लामो पदमार्ग निर्माण सुरु गरिएको गाउँपालिका अध्यक्षले जानकारी दिएका छन्।
चालु आर्थिक वर्षको संघको साढे ३ करोड र पालिकाको २ करोड २४ लाख ३५ हजार रुपैयाँको लागतमा करिब ४ किलोमिटर सुविधासम्पन्न पदमार्ग निर्माण गर्न लागिएको उनले जनाएका छन्। बहुवर्षीय योजना अनुसार १५ किलोमिटर पदमार्ग निर्माण गरिने गाउँपालिकाको लक्ष्य रहेको छ। सो पदमार्गका दुवैतर्फमा रेलिङ राखिने र यसका साथै पदमार्गको बीच–बीचमा शौचालय, धारासमेत व्यवस्था गरिने योजना रहेको छ।
यसैगरी उक्त पदमार्गको शोभा बढाउने गरी पुरातत्त्व विभागको करिब १ करोड रुपैयाँको लागतमा पुरातात्त्विक काली मन्दिर निर्माण भइरहेको छ। गत वर्ष नै पालिकाले उक्त गढीको संरक्षणका लागि घेरबार लगाएको थियो। पदर्माग नजिकमा आकर्षक मन्दिर निर्माण भएकोले सुनसान रहेको उक्त स्थलमा हाल पर्यटकको चहलपहल बढ्दै गएको छ। सो क्षेत्रमा पर्यटन प्रवद्र्धनको लागि केही होटल पनि सञ्चालनमा आएका छन्। यसले आर्थिक क्षेत्रको विकासमा पनि टेवा पुग्ने भएको छ। यो पदमार्ग निर्माणले पर्यटकको आकर्षण अझ बढ्ने गाउँपालिकाका अपेक्षा रहेको छ।
घोर्नालीसम्म पुग्ने पदमार्गमै पर्ने गोरेनागीमा पोखरी, वनभोजस्थल, खेलमैदानसमेत निर्माण भइसकेको अध्यक्षले जानकारी दिएका छन्। पहुँच पुगेको स्थानमा मात्र विकासे काम हुने परिपाटी अन्त्य गर्दै सबै स्थानमा विकास निर्माण पुर्याएर आयआर्जन गर्न सक्ने वातावरणका लागि पदमार्ग निर्माण भएको उनको भनाइ छ। प्राचिन समयमा अंग्रेजहरुको लडाइँ हुँदा सिन्धुलीगढी, मेलुङगढी, सदरमुकाम चरीकोटमा लडाइँ डाँडोसमेत हुँदा सो क्षेत्रमा पनि त्यतिबेला नै गढी बनेको र हाल पनि केही भग्नावशेष रहेको स्थानीयले जानकारी दिएका छन्।