गुल्मी । मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको सिमलटारीदेखि प्यूठानको मच्छीसम्मको सडक निर्माण कार्य सुरु भएको ३३ महिनामा २६ प्रतिशत मात्र सम्पन्न भएको छ । सडकको वित्तीय प्रगति पनि २३ प्रतिशत मात्र भएको छ ।
निर्धारित समयमा काम सम्पन्न नहुँदा वर्षायाममा यात्रुहरूले सास्ती भोगिरहेका छन् । एक अर्ब ४५ करोड रुपैयाँको लागतमा ३१ किलोमिटर सडक निर्माणको जिम्मा श्रेष्ठ–सक्षम जेभीले २०७९ कात्तिक ५ गते लिएको थियो । सडक निर्माणले गति नलिएको गुनासो आएपछि गुल्मीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाको नेतृत्वमा स्थानीय तह र योजना कार्यालयको टोलीले हालै स्थलगत अनुगमन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कोइरालाले सडकको सबवेस, बेस र कालोपत्रे लगायतका धेरै काम बाँकी रहेको बताएका छन् । निर्माण व्यवसायीका इञ्जिनियर किसन शाहले भने आर्थिक समस्याका कारण काममा ढिलाइ भएको बताएका छन् ।