काठमाडौं । अविरल वर्षाका कारण देशभरका विभिन्न ९ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । सडक विभागले आज सार्वजनिक गरेको सूचनाअनुसार वर्षा र पहिरोका कारण देशभरका ९ वटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका हुन् ।
गल्छी–त्रिशूली–रसुवागढी, कर्णाली करिडोर दक्षिण खण्ड, उत्तर–दक्षिण कोशी राजमार्ग, तमोर करिडोर, तातोपानी–टिमुरेस्थित ठोरी–रसुवागढी लगायतका सडकहरू पूर्ण रूपमा अवरुद्ध छन् ।
यसैगरी, पश्चिम रुकुमको भेरी करिडोर, रोल्पाको सहिद राजमार्ग र अरनिको राजमार्गको सिन्धुपाल्चोक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध छन् । दैलेखको सुर्खेत–तल्लो डुगेश्वर–जुम्ला सडकखण्डमा भने सुख्खा पहिरोका कारण राति यातायात बन्द हुने र दिउँसो मात्र सञ्चालनमा आउने गरेको विभागले जनाएको छ ।
अहिले देशभरका १५१ सडकखण्डमा एकतर्फी मात्र यातायात सञ्चालनमा आएको छ । विभागका अनुसार ३७१ सडकखण्डमध्ये २११ वटा पूर्ण रूपमा खुलेका छन् ।
सडक विभागका सूचना अधिकृत अमितकुमार शर्माले बाढी, पहिरो र डुबानका कारण सडकमा क्षति पुगेको तथा कतिपय ठाउँमा पुल बगाएको जानकारी दिए। उनका अनुसार, कतिपय ठाउँमा मर्मत कार्य जारी रहे पनि निरन्तरको वर्षाले समस्या समाधान गर्न कठिनाइ भएको छ ।