काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा थप १५ दिन सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकले बाढीपहिराेकाे जाेखिमका भदौ १६ गतेदेखि थप १५ दिन सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेकाे हाे ।
गत असार ७ गतेदेखि राति सवारीसाधन सञ्चालनमा रोक लगाइँदै आएकोमा भदौ मसान्तसम्म राति १२ घण्टा सो कार्यमा रोक लगाइएको हो ।
प्रत्येक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए । कार्यालयले सो राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म थप १५ दिन रोक लगाउने निर्णय गरेको हो ।
कार्यालयले उक्त निर्णय गर्दै सूचनामार्फत मनसुन सक्रिय रहेको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लिखित क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएकाले सतर्कता अपनाउन सार्वजनिक अपिल समेत गरेको छ । काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा जोखिम भएकाले यातायात सञ्चालनमा रोक लगाइएको हो । यस्तै काठमाडौंबाट जाने सवारीसाधनलाई काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउनेलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने छ ।