काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त संघीय संसद् भवन पुरानै स्वरुपमा पुनर्निमाण गरिने भएको छ । नवनियुक्त तीन मन्त्रीले आज क्षतिग्रस्त संघीय संसद् भवनको अवलोकन गर्दै भवनलाई पुरानै स्वरुपमा पुननिर्माण गरिने बताएका हुन् ।
संघीय संसदका दुई सदनको बैठक अहिलेलाई भने नयाँ भवनबाट सञ्चालन गरिने मन्त्रीहरुले जानकारी दिएका छन् ।
ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङले आगामी पुससम्म सिंहदरबारमा निर्माणाधीन नयाँ संसद भवनको काम सम्पन्न हुने र त्यही नै संसदको बैठक बस्ने जानकारी दिए । नयाँ निर्वाचित हुने सांसदहरुले अब सिंहदरबारकै संसद भवनबाट काम गर्ने उनले बताए ।
उनले आन्दोलनकारीको आक्रमण र आगजनीबाट ध्वस्त भएको बानेश्वरको भवन पनि पुरानै स्वरुपमा निर्माण गरिने बताए । मन्त्री घिसिङले तत्कालै सरसफाइ कार्य सुरु गरेर डिजाइनको प्रक्रियामा अघि बढ्ने र अल्पकालीन दिर्घकालीन योजनामा पुननिर्माण सुरु गरिने जिकिर गरे ।