संखुवासभा। खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनका लागि रोक्का गरिएका जग्गाको मुआब्जा उपलब्ध गराउन माग गरेको छ।
गाउँपालिकाले संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रोका लागि जग्गा धनीलाई जग्गा रोकिएको अवधिको मुआब्जा उपलब्ध गराउन माग गरेको हो।
२०७६ साल मंसिर १० गतेदेखि रोक्का गरिएको जग्गा प्रसारण लाइनको रुट परिवर्तनसँगै मुआब्जा निर्धारण समितिले गएको भदौमा फुकुवा गर्ने निर्णय गरेको थियो।
अरुण तेस्रोको प्रसारण लाइनका लागि पहिला रोक्का राखेर पुनस् फुकुवा गरिएका जग्गाको मुआब्जा उपलब्ध गराउनका लागि गाउँपालिकाले भारत सरकार स्वामित्वको निर्माण कम्पनी एसजेभीएन समक्ष माग गर्ने निर्णय गरिसकेको गाउँपालिकाले जनाएको छ।