काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड एवं आगजनी भएको आन्तरिक राजस्व कार्यालय विराटनगरको निरीक्षण गरेका छन् । खनालले बुधवार विराटनगर पुगेर कार्यालयको निरीक्षण गरेका हुन् ।
एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरमा हुने राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा सहभागी हुन मन्त्री खनाल विराटनगर पगेका थिए । उनले आजै उद्योगी एवं व्यापारीसँग मोरङ व्यापार सङ्घका प्रनिधिहरुसँग छलफल समेत गरेका छन् ।
राजस्व कार्यालय निरीक्षण गर्ने क्रममा उनले मन्त्रिपरिषद्ले यही असोज ५ गते आर्थिक मितव्ययिता सम्बन्धी गरेका निर्णयहरु सबै क्षेत्रमा लागू हुने जानकारी गराए।
मन्त्री खनाललाई सो कार्यालयका प्रमुख केशव उप्रेतीले क्षतिको विवरण हस्तान्तरण गरे। मन्त्री खनालले निरीक्षण गरिरहेको समयमा कर्मचारीहरुले सवारीसाधन राख्न बनाइएको टहराबाट सेवाग्राहीलाई सेवा प्रदान गरिरहेका थिए ।