म्याग्दी । बेनी–दरवाङ सडकमा यात्रुवाहक बस र मालवाहक सवारीसाधन सञ्चालन हुन थालेका छन् । पूर्वाधार विकास कार्यालयले फापरखेत, लाम्पाटा, पानाबगर र बाङ्गेपहिरोमा सडक मर्मत गरेसँगै यातायात सञ्चालनमा आएको हो ।
पहिरो खसेर साँघुरिएकोसडक पहिरो पन्छाएर फराकिलो बनाएपछि दुईतर्फी सवारीसाधन सञ्चालनमा आएको छ । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनी बजारसँग जोड्ने २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकमा गत असारदेखि ठूला सवारीसाधन सञ्चालन हुनसकेका थिएनन् ।
यो सडक बागलुङको तमानखोलाका बासिन्दाले पनि प्रयोग गर्छन् । पहिरो खसिरहने भएकाले बेनी–दरवाङ सडकको यात्रा कष्टपूर्ण र जोखिमयुक्त बनेको थियो । बर्खायाममा जीप, ट्याक्सी, माइक्रोबस, मोटरसाइकल र ट्रयाक्टर चलेका सडकमा मर्मत भएपछि बस तथा ट्रक सञ्चालन हुन थालेका छन् ।