काठमाडौं। कुनै बेला कमलपोखरी देखी लिएर रानीपोखरीसम्म रहेको एशियाकै ठूलो खुला मैदान आज संकुचन भएर बिस्तारै हराउन सक्ने भएको छ। कमलपोखरी रहेको ठाँउ पुरेर रङ्गशाला बनाइयो। बि.सं. २०१३ सालमा राजा महेन्द्रको राज्यभिषेकको अवसरमा खेलकुदको पनि आयोजना गरिने निर्णय भए पछि हतार हतार कमलपोखरी पुरेर फुटबल मैदान बनाइयो। साथै त्यस वरपरको भाग पनि सम्याइयो। प्रतियोगितात्मक रुपमा पहिलो पटक कुस्ती, दौड, फुटबल, ब्याडमिन्टन र टेबलटेनिस प्रतियोगिता यहि रङ्गशालामा भएको थियो। यसको संगैको मैदान बिस्तारै सेनाले ओगट्यो। बिचमा भद्रकाली हुदै सिंहदरवार जाने सडक पहिले नै थियो। जहाँ पछि २०१९ सालमा शहिद गेट बनाइयो। त्यसपछि खाली रहेको जमिनलाई भने हालसम्म टुँडिखेलकै नामले चिनिन्छ। यसपछि सेनाले २०१८ सालमा महांकालको पछाडी सैनिक मञ्च तैयार बनायो। भने त्यसको संगै उत्तर तर्फ फर्काइएर खुला मञ्च बनाइयो । यसरी टुँडिखेल कुँजिदै गयो। २०२० सालमा रानीपोखरीको दक्षिणमा रानी रत्नलाई खुशी बनाउदै राजा महेन्द्रले रत्न पार्क बनाइदिए। तीनसय वर्ष अगाडी सानेपा देखी रानीपोखरी सम्म तीन माइलको रहेको टुँडिखेल संकुचन भयो। भविष्यमा टुँडिखेल नै हराउने हो कि भन्ने लागिसक्यो।

मल्लकालमा नर्कट अर्थात नेवारीमा तिं को झाडी थियो। त्यसैले यसको नाम तिंख्यो भनिन्थ्यो। भनिन्छ टुण्डी भैरवले आफ्नी छोरी अजिमाको बिहेमा दाइजो दिइएको यो ठाँउ भएको हुँदा टुण्डीख्योबाट नै टुँडिखेल नाम रहेको भनिन्छ। छोरीलाई दिइएको दाइजो भएको हुँदा केही गर्नु हुदैन भन्दै मल्लकालमा यसलाई खाली नै राखिएको थियो।
तस्विरमा देखिएको दृश्य यहि टुँडिखेलको हो। तस्विरमा दाँया तर्फ ठिङ्ग उभिएको धरहरा तथा सो संगैको बागदरवार स्पष्ट देख्न सकिन्छ। करिव बिचमा रहेको ऐतिहासिक खरीको बोट र त्यसको संगै जगन्नाथ मन्दिर देख्न सकिन्छ। बिचमा असंख्य सैनिकहरु परेड खेल्दै गरेको यो दृश्यको पछाडी पनि एउटा अर्को इतिहास लुकेको छ।
जङ्गबहादुरको मृत्यु पछि प्रधानमन्त्री बनेका रणोद्वीप सिंह कुँवरको समयमा बि.सं. १९४० मा एउटा घटना घट्यो। प्रत्येक वर्ष झै त्यो वर्ष पनि ल्हासाको झोखाङ मन्दिरमा ठूलो उत्सव शुरु भयो। नेपालका नेवार ब्यापारीहरु पनि सो मेलामा ब्यापार गर्न पुगेका थिए। त्यहा दुइ तिब्बती महिलासंग एक ब्यापारीको साधारण झगडा भयो। तर त्यो झगडाले केही बेरमै बिकराल रुप लियो। सयौं तिब्बती मिलेर नेवार ब्यापारीहरुको ८४ पसलका मालसामान लुट्ने तथा जलाउन थाले। हुन त त्यो घटनामा कसैको पनि हताहत भएन। तर सो को जानकारी नेपाल सरकार सम्म पुग्यो। नेपाल सरकारले तुरुन्तै तिब्बत सरकारलाई धम्कीपूर्ण भाषामा ति ब्यायारीलाई १५ लाख रुपैया क्षतिपूर्ती तथा दोषीलाई कारवाहीको माग राख्यो। यसको लगत्तै प्रधानमन्त्री रणोद्वीप सिंहले भारदारी सभा बोलाएर तिब्बत संग युद्ध गरेमा देशले के कति नाफा वा घाटा हुने बिषयमा छलफल थाले।
उता तिब्बत सरकारले नेवार ब्यापारीलाई क्षतिपूर्ती दिन नसकिने जानकारी पठायो। यता राज्यकोषबाट ४० लाख निकालेर युद्धको तैयारी थाल्यो। ४५ हजार सैनिक ७०० घोडा तथा २००० खच्चर सहितको युद्ध टोली तैयार भयो। तिब्बत र नेपाललाई नजिकबाट नियालिरहेको चीनले १९४० को पौषमा दुइ बिच मध्यस्तता गर्न थाल्यो। अन्तत तिब्बत सरकारले तत्कालै ६ लाख आफ्नै राज्यकोषबाट र ४ लाख चीन सरकारसंगको ऋणबाट नेपाल सरकारलाई १० लाख बुझायो। यसरी अचानक भएको युद्धको सम्भावना टर्यो।