काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोटेकोशी बाढीबाट भएको विपत्तिपछि तीनै तहका सरकार उद्धार, पुनर्स्थापना र पुनर्निर्माणमा एकजुट भएर लागेको बताएका छन्।
काठमाडौंमा आयोजित कार्यक्रममा उनले बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवनका १५ स्थानीय तह प्रभावित भएको जानकारी दिए। उनका अनुसार विपत्तिमा एक हजार ३९४ जनाको शव फेला परेको र सात हजारभन्दा बढी बेपत्ता छन्।
बाढीबाट आठ खर्ब रुपैयाँभन्दा बढीको क्षति भएको तथा ४० भन्दा बढी पक्की र झोलुङ्गे पुल ध्वस्त भएको उनले बताए। त्यस्तै, ६ हजार ५०० भन्दा बढी घर तथा बस्ती बगेको उनको भनाइ छ।
रसुवाको धुन्चे, स्याफ्रुबेँसी, टिमुरे र उत्तरगयाको बेत्रावतीलगायत क्षेत्रमा तत्काल बस्ती बसाउन सक्ने अवस्था नरहेको मुख्यमन्त्री थापाले बताए।
प्रदेश सरकारले पुनर्निर्माणका लागि रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङ र चितवनलाई ५०–५० लाख रुपैयाँ स्थानीय तहमार्फत खर्च गर्ने गरी बजेट विनियोजन गरेको उनले जानकारी दिए।