चितवन । अविरल वर्षापछि विभिन्न स्थानमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। चितवन र धादिङका सडकखण्डमा लगातार पहिरो तथा ढुंगा खसिरहेकाले तत्काल यातायात सञ्चालन गर्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना–४ धारापानीमा सडक पुनः भासिएको छ। इच्छाकामना–५ सिमलधारा, तुइनखोला र नाम्सीखोलामा पहिरो तथा ढुंगा खसेपछि सडक अवरुद्ध भएको छ।
यस्तै, पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर, ज्यामिरेघाट, जरेखेत र कमेरेभिरमा पहिरो खसेको छ। पहिरो हटाउने काम भइरहे पनि निरन्तर वर्षाका कारण नयाँ पहिरो खस्ने क्रम नरोकिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरले जनाएको छ।
जोखिम बढेपछि दुवै राजमार्गमा हिजो रातिदेखि नै सवारी सञ्चालनमा रोक लगाइएको छ।