हेटौँडा । पृथ्वी, बीपी र कान्ति राजमार्ग बाढीपहिरोका कारण अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारी चाप बढेको छ। चाप व्यवस्थापन गर्न मकवानपुर प्रशासनले काठमाडौँ आउने–जाने सवारीका लागि छुट्टै समय तालिका तोकेको छ।
प्रशासनका अनुसार हेटौँडाबाट काठमाडौँ जाने सवारीलाई शुक्रबार दिउँसो २ बजेसम्म चौकीटोलबाट सञ्चालन गर्न दिइनेछ। शनिबार बिहान ४ देखि ८ बजेसम्म र राति १० बजेदेखि आइतबार बिहान २ बजेसम्म पनि काठमाडौँ जान सकिनेछ।
काठमाडौँबाट हेटौँडा आउने सवारीका लागि शुक्रबार साँझ ७ देखि ११ बजेसम्म तथा शनिबार दिउँसो १ देखि ५ बजेसम्मको समय तोकिएको छ।
यसैगरी, १५ टनभन्दा बढी भार भएका र १० चक्केभन्दा ठूला मालवाहक सवारीमा रोक लगाइएको छ। यात्रुबाहकमा ११ मिटरभन्दा छोटा सवारीलाई मात्र अनुमति दिइएको छ।