काठमाडौँ । निरन्तर वर्षाका कारण काठमाडौँ उपत्यकाका अधिकांश नदी तथा खोलामा ठूलो बाढी आएको छ। बागमती, मनोहरा, हनुमन्ते, विष्णुमती र नख्खुलगायतका नदी तथा खोलामा जलसतह बढेर बाढी आएको हो।
नदीमा बाढी बढेपछि सुरक्षाकर्मीले नदी करिडोर आसपासका सडकमा माइकिङ गर्दै सर्वसाधारणलाई सतर्क गराइरहेका छन्। बाढीको जोखिम बढेका कतिपय सडकमा आवतजावतसमेत बन्द गरिएको छ।
बाढी महाशाखाका अनुसार आज काठमाडौँसहित देशका अधिकांश जिल्लाका नदी तथा खोलामा जलसतह बढ्ने र बाढीको जोखिम थप बढ्ने सम्भावना छ। काठमाडौँ उपत्यकामा बिहीबार दिउँसोदेखि निरन्तर वर्षा भइरहेको छ।
लगातारको वर्षाका कारण नदी किनारका बस्ती तथा सडक क्षेत्रमा जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।