काठमाडौँ । काठमाडौँको मुलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिएपछि आवागमन बन्द गरिएको छ। पुलसँगै रहेको ग्याविन जालीको भाग भासिएपछि जोखिम बढेकाले पुलबाट आउजाउ रोकिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्य खड्काले बताए।
अविरल वर्षाका कारण भक्तपुरका विभिन्न खोलामा पानीको सतह बढेको छ। खस्याङ खुसुङ खोलाको बहाव बढेर डेकुचाबाट चाँगुनारायण जाने सडकसम्म पुगेको प्रहरीले जनाएको छ।
यसैबीच, लोकन्थली नजिकै सागबारीमा नदीको सतह बढेर अस्थायी टहरासम्म पानी पुगेपछि प्रहरीले त्यहाँ बस्दै आएका स्थानीयलाई सुरक्षित स्थानमा सारेको छ। उनीहरूलाई नजिकैको आदर्श जनप्रेमी स्कुलमा राखिएको एसपी खड्काले बताए।
बालकोट र लोकन्थलीको सीमामा पर्ने सागबारी हनुमन्ते, मनोहरा र गोदावरी खोला मिसिने त्रिवेणीस्थल हो। बिहीबारदेखि देशभर निरन्तर वर्षा भइरहेको छ।