रोशी खोलाले अस्थायी डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध भएको छ। दुई दिनदेखि भइरहेको लगातारको वर्षाका कारण रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएको सडक भिडिजन कार्यालय, भक्तपुरले जनाएको छ। बीपी राजमार्गमा सवारी साधान पूर्ण रुपमा ठप्प भएका छन्।
त्यस्तै, बीपी राजमार्गअन्तर्गतका चारसयबेशी, चौकीडाडा र गिम्तीबेशी खण्डमा पहिरो खस्दा सडक सञ्जाल थप प्रभावित भएको छ। सडक अवरुद्ध भएपछि अहिले सयौं यात्रु र सवारी साधन बीचबाटोमै अड्किएका छन्।
अवरुद्ध सडक खुलाउनका लागि प्राविधिक टोली परिचालन गरिएको सडक डिभिजन भक्तपुरले जनाएको छ। पानी पर्न रोकिएमा पाँच घण्टाभित्रै यातायात सुचारु गर्ने गरी कार्ययोजना अघि बढाइएको जनाइएको छ।
स्थायी संरचनाको मर्मत र डाइभर्सनको पुनः निर्माणका लागि आवश्यक जनशक्ति र उपकरणहरू परिचालन गरिएको छ। हाल पहिरो पन्छाउने काम जारी रहे पनि निरन्तरको वर्षाले काममा कठिनाइ उत्पन्न भएको छ।
यस रुट भएर यात्रा गर्ने सवारी चालक तथा यात्रुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।