महेन्द्रनगर । पूर्व–पश्चिम राजमार्गलाई स्तरोन्नती गरी चार लेनको बनाउने विषयमा कञ्चनपुरको गड्डाचौकीदेखि स्थलगत अनुगमन सुरु भएको छ । राजमार्गलाई चार लेनको सडकका रुपमा स्तरोन्नती गर्न सडक विभाग र दातृ निकाय विश्व बैंकको संयुक्त टोलीले बुधबारदेखि स्थलगत अनुगमन तथा अध्ययन सुरु गरेको हो ।
यहाँस्थित सडक डिभिजन कार्यालयका प्रमुख राजेशकुमार यादवले राजमार्ग विस्तारका लागि माथिल्लो निकायले स्थलगत अनुगमन सुरु गरेको जानकारी दिदैं त्यसको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० बनाउने चरणमा प्रवेश गरिरहेको जानकारी दिए । “ पश्चिमीनाका गड्डाचौकीदेखि कैलालीको अत्तरीयासम्म ४५ किलोमिटर सडक खण्ड चार लेन बनाउने विषयको अध्ययनका लागि सडक विभागका उप महानिर्देशक अर्जुन प्रसाद अर्याल नेतृत्वको विश्व बैंकका प्रतिनिधीसहितको टोली यहाँ आएको हो ।” डिभिजन प्रमुख यादवले भने–“ अब सडक विभागले तीन महिनामा परामर्शदाता छनौट गरी काम अघि बढाउँछ, यसका दातृ निकाय सकरात्मक छन् ।”
उनले छिट्टै परामर्शदाता छनौट गरेर डिजाइनको काम अघि बढ्नेमा आशावादी रहेको बताए। “यसअघि पनि दुर्घटना न्युनीकरणका लागि सडक डिभिजनले राजमार्गमा पर्ने चोक र स–साना बजार क्षेत्रमा स्तरोन्नतीको काम गरिरहेको थियो ।” यादवले भने–“ हालसम्म यहाँ दुई किलोमिटर जति सडक चोक क्षेत्रमा स्तरोन्नती भयो ।”