उदयपुर । एक वर्षदेखि अवरुद्ध भएको उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक सञ्चालनमा आएको छ । रसुवा खोलामा अस्थायी पुल निर्माण गरेर अवरोध खुलाएसँगै सडक सञ्चालनमा आएको हो ।
गाईघाटबाट रौतामाई गाउँपालिकाको रौताको मुर्कुची बजार भएर पुवारे, भुटार हुँदै लिम्चुङबुङ गाउँपालिका–५ जाँतेसम्म जोड्ने करिब ४२ किलोमिटर सडकअन्तर्गत रौता–भुटार खण्ड अवरुद्ध भएको थियो ।
गत वर्षको वर्षाले ग्रामीण सडक भत्काउनुका साथै भुटारस्थित रसुवा खोलामा पुल नहुँदा अवरुद्ध बनेको थियो ।
उक्त सडक सञ्चालन भएपछि शुक्रबारदेखि जाँते–भुटार–मुर्कुची–गाईघाटमा बस समेत सञ्चालन हुन थालेको छ। लिम्चुङबुङ गाउँपालिका–५ का वडाध्यक्ष केसर राईका अनुसार रौतामाई गाउँपालिकासँग समन्वय गरेर सडक सञ्चालनको पहल गरेपछि अवरोध हटेको हो ।
रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरका अनुसार रौता–भुटार खण्डको रसुवा खोलामा अस्थायी पुल निर्माण गरिएको छ भने बाँकी स्थानका अवरुद्ध सडक खुलाइएपछि यातायात सञ्चालन भएको हो ।