बाजुरा । बाजुराको मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत बुढिनन्दा नगरपालिकाको दानसाँघु खोलामा बेलिब्रिज पुल निर्माणको लागि शिलान्यास गरिएको छ । बुधबार बुढीनन्दा नगरपालिकामा उप–प्रमुख रामबहादुर बोहराले पुल निर्माणका लागि शिलान्यास गरेका हुन् ।
साँफे मार्तडी सडकखण्डको जडाङ्गास्थित प्रयोगविहिन अवस्थामा रहेको बेलिब्रिजलाई दानसाँघु खोलामा स्थानान्तरण गरि पुनः स्थापना गर्न लागिएको हो । सडक डिभिजन कार्यालय साँफेबगरले करिब २ करोड २२ लाख लागतमा उक्त पुल सार्न लागेको हो । नगरपालिकाको निरन्तर प्रयासपछी पुल स्थानान्तरण प्रक्रियाले सार्थकता पाएको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताए ।
उनका अनुसार, बेलिब्रिज निर्माण भए पश्चात् माथिल्लो क्षेत्रका नागरिकलाई ठुलो राहत मिल्ने बताएका छन् । साथै सवारीसाधन र स्थानीयको आउजाउमा सहज हुने अपेक्षा लगिएको बताए । मार्तडीदेखि कोल्टी सडक सुचारु भएको झण्डै २६ वर्ष बितिसक्दा पनि उक्त खोलामा पुल निर्माण हुन सकेको थिएन ।
सडक डिभिजन कार्यालय अछामले जडाङ्गामा रहेको बेलिब्रिज पुललाई त्यहाँ राख्ने गरी बेलिब्रिज पुलको सर्भे गरिको थियो । मार्तडी देखि कोल्टीसम्म करिब ४२ किलोमिटर सडकखण्ड छ । उक्त सडकको बाउलीमा पाँच बर्ष देखि पुल अलपत्र अवस्थामा छ भने अनाई खोलामा पुल निर्माण करिब अन्तिम चरणमा पुगेको छ ।