लुम्बिनी । गत भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट फरार भएका तीन जना कैदीहरूलाई प्रहरीले रुपन्देहीमा पक्राउ गरी जिल्ला कारागार कार्यालय रुपन्देहीमा बुझाएको छ । साथै, सोही प्रदर्शनका बेला आगजनी, तोडफोड र चोरीमा संलग्न ६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार, कपिलवस्तु कारागारबाट फरार बैंकिङ कसुर मुद्दाका तुलबहादुर पुनलाई मङ्सिर १ गते नियन्त्रणमा लिइएको थियो ।
त्यसैगरी, नवलपरासी कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका रुद्रबहादुर पुनलाई मङ्सिर २ गते पक्राउ गरिएको थियो । तनहुँ कारागारबाट फरार लागुऔषध मुद्दाका भारतका दीपक कुमारलाई बुधवार सिद्धार्थनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र रानाका अनुसार, भदौ २४ गते बुटवलका विभिन्न सरकारी तथा व्यावसायिक प्रतिष्ठान तथा प्रहरीका हतियार–समान लुटपाट, आगजनी र तोडफोडमा संलग्न ६ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।
पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय मङ्गलापुरमा आगजनी गर्ने, हतकडी चोरी गर्ने विवेक शाही, र ड्रिमल्याण्ड होटेलमा आगजनी तथा चोरीमा संलग्न अनिल थापासमेत छन् ।
अन्य पक्राउ पर्नेमा मुर आलम मुसलमान, सुरज भण्डारी, कुमार उप्रेती र विनोद सुनुवार छन् । पक्राउ परेका सबैलाई चोरी र आपराधिक उपद्र मुद्दा दर्ता गरिएको छ ।