मुगु । मुगुको पूर्वी क्षेत्रमा रहेको लामा समुदायको बसोबास रहेको मुगमकार्मारोङ गाँउपालिका–२ मुगुम गाँउमा ‘चिटिम शैली’ को प्रवेशद्वार अर्थात पुल निर्माण गरिएको छ । गाउँमा छिर्ने द्वार वा लामा भाषामा (काग्नी साम्पा) निर्माण गरिएको हो ।
पुल १९ फिट अग्लो, ५० फिट लम्बाई ५ फिट चौडाईको छ । दुई स्तुपा ३१ फिट अग्ला, १२ फिट चौडाईका छ भने भर्याङहरुको चौडाई १५ र उचाई ९ फिट रहेको दुबै स्तुपाहरुको भित्री भागमा आकर्षक कलाकृतिले सजाइएको छ ।
४१ लाख ६७ हजार ७ सय ८३ रुपैयाँको लागतमा निर्माण भएको पुलमा रिकिका ब्रकनर लामा ठिन्ले कारुन फाउन्डेसनका अध्यक्ष ठिन्ले लामाले लगानी गरेका छन् । पुल निर्माणमा स्थानीय मजदुरहरुको सीप प्रयोग गरिएको छ ।


चिटिम शैलीको यो पुल भौतिक संरचना मात्र नभई हराउँदै जान थालेका सांस्कृतिक धरोहरलाई पुनर्जीवित गर्ने महत्वपूर्ण प्रयास भएको मानिएको छ । सडक विस्तारसँगै अन्य भौतिक पूर्वाधारका विकास निर्माणले गाउँ–गाउँका काग्नी साम्पा (छिर्ने चिटिम) हराउँदै जान थालेपछि लामा–बौद्ध परम्परालाई सुरक्षित राख्ने उद्देश्यले पुल निर्माण सुरु गरिएको अध्यक्ष ठिन्ले लामाले बताए ।

पुल निर्माणले धार्मिक परम्परा, इतिहास र सांस्कृतिक पहिचान जोगाउनुका साथै मुगुम गाउँ आउने तीर्थयात्री, आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने र गाउँको पहिचानलाई समेत बदल्ने अनुमान गरिएको छ ।
‘२०६६ सालदेखि यस्तो संरचना जगेर्ना गर्न सकिने मोडल अध्ययनमा जुटेका थियौं अहिले सडक विस्तार हुँदै जाँदा गाउँ–गाउँका पुराना काग्नी साम्पा (छिर्ने चिटिम) भत्काउनुपर्ने अवस्था छ । सानो पार्नुपर्ने स्थिति बन्न थालेका बेला यो शैलीको संरक्षण गर्ने सपना साकार भएको छ,’ पुल डिजाइनर सोनाम गिर्मे लामाले भने, ‘पुलले धार्मिक पर्यटन, देवभूमि प्रवेश तथा स्थानीय आवतजावतमा उल्लेख्य टेवा पु¥याउने विश्वास छ ।’
पुलको संरक्षण गरी प्रयोगमा ल्याउनु ठूलो चुनौती भएकाले संरक्षणका लागि सबैको सहयोग आवश्यक भएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु बुढाले बताए ।
स्थानीय सरकारले गर्न नसकेको काम रिकिका ब्रकनर लामा ठिन्ले कारुन फाउन्डेसन मुगुले गरेको भन्दै पुल निर्माणमा सहयोग गर्ने सबैलाई स्थानीय सरकारका तर्फबाट सम्मान गरेको गाँउपालिकाका उपाध्यक्ष पुटीक लामाले बताइन् ।
गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले पुल निर्माण गाउँको मात्र नभई गाउँपालिकाकै गौरव भएको बताए । पुल उद्घाटन गर्दै उनले संस्कृतिमा चिटिम केवल ढोका मात्र नभई देवता प्रवेश गर्ने मार्ग भएको बताए ।