काठमाडौं । चितवनको माडी–ठोरी सडकखण्ड अन्तर्गत पटारी खोलामा अलपत्र पुल निर्माणको ठेक्का तोडिएको छ । हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय वीरगञ्जले आज सार्वजनिक सूचना जारी गरी ठेक्का तोडिएको जानकारी दिएको हो ।
४१ मिटर लामो पुल निर्माणको ठेक्का लोहनी एण्ड ब्रदर्श प्रालि भरतपुरले पाएको थियो । तर काम अलपत्र पारेर ठेकेदार कम्पनी सम्पर्कमा नआएकाले ठेक्का तोडिएको आयोजना निर्देशनालय वीरगञ्जले जनाएको छ ।
सूचनामा लेखिए अनुसार निर्माण व्यवसायीलाई ठेक्का किन नतोड्ने भनेर १५ दिनभित्र स्पष्टीकरण मागिएको थियो । तर स्पष्टीकरण नबुझाएको, काम सुरु नगरेको र निर्माण व्यवसायीका प्रतिनिधि पनि सम्पर्कमा नआएकाले ठेक्का तोडिएको हो ।
ठेक्का तोडिएकाले अब सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ (८) बमोजिम कार्य सम्पादन जमानत जफत गर्ने, बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकम सरकारी बाँकी सरह असुल उपर गर्ने र निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने निर्देशनालयले जनाएको छ ।