काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्न विद्युत्को तार भूमिगत गर्ने कार्यलाई तीव्रता दिएको छ। हाल दुईवटा ‘फेज’को ४० प्रतिशत काम सम्पन्न भइसकेको छ।
उपत्यकाको उत्तर तथा मध्य वितरण प्रणाली सुदृढीकरण आयोजना र काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत हाल काठमाडौंमा विद्युत्को तार भूमिगत गर्ने कार्य भइरहेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराइले जानकारी दिएका छन्।
हालसम्म उत्तर तथा मध्य वितरण प्रणाली अन्तर्गत ४५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजना प्रमुखले जानकारी दिएका छन्। चक्रपथबाहेकको बाँकी क्षेत्रको काम आर्थिक वर्ष २०७८/०७९ को असारसम्म सम्पन्न हुने भएको छ। काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुखका अनुसार यस ‘फेज’को काम सुरु भएको दुई महिना पूरा भएको र सो काममा चार हजारवटा जग निर्माण गर्नुपर्नेमा हालसम्म दुई सयवटाको निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।
काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण ‘फेज’अन्तर्गत कोटेश्वर, बानेश्वर, जोरपाटी, बालाजु र कीर्तिपुर क्षेत्रमा तार भूमिगत गरिने योजना रहेको छ। हाल कीर्तिपुरबाट तार भूमिगत गर्ने कार्य सुरु भएको छ।
तार भूमिगत गर्नको लागि सडक खन्नु नपर्ने र होरिजेन्टल डाइरेक्सन ड्रिलिङ (एचडीडी) प्रविधिको माध्यमबाट गर्नुपर्ने भनिएको भएपनि एकैठाउँमा तल–माथि खानेपानी, ढलको पाइप बिछ्याइएकाले एचडीडी प्रविधिबाट ड्रिलिङ गर्दा ती पाइप फुट्ने भएकाले गर्दा सडक खन्नुपर्ने बाध्यता रहेको छ। तार भूमिगत भइसकेपछि त्यसको नियन्त्रण तथा अनुगमन नियन्त्रण कक्षबाट गरिने भएको छ।