हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रको मुख्य बजार सडक विस्तारको योजना अहिले विवादित बनेकाे छ । नगरपालिकाले सडक क्षेत्रभित्रका संरचना हटाउन १५ दिने सूचना जारी गरेपछि स्थानीय व्यवसायी र घरधनी विरोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले विकासका नाममा घर–जग्गाकाे उचित मुआब्जा बिना अधिग्रहण गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
आज बजार क्षेत्रमा आयोजित प्रदर्शनमा सहभागीहरूले पारदर्शी प्रक्रिया, वैकल्पिक बसोबास र न्यायपूर्ण मुआब्जा सुनिश्चित नगरी कुनै पनि संरचना भत्काउन नदिने चेतावनी दिएका छन्। प्रदर्शनमा सहभागीहरूले दशकौंदेखि सञ्चालन हुँदै आएका व्यवसायलाई सुरक्षा दिनुपर्ने, नागरिकको अधिकारलाई संरक्षण गर्नुपर्ने माग राखेका छन्।
उद्योग वाणिज्य संघ मकवानपुरका पूर्व अध्यक्ष रामहरी न्यौपानेले पूर्वाधार निर्माण आवश्यक भएपनि आतंक फैलाउने काम भने स्वीकार्य नभएको बताए । उनले भन, ‘हामी व्यवसायी शान्तिपूर्ण छौँ । हामीआन्दोलनकारी होइनौँ। सरकारसँग अनुरोध छ-हाम्रो पीडा बुझेर, सहमति र न्यायसंगत मुआब्जा सुनिश्चित गर्दै सडक विस्तार गर्नुस्। पूर्वाधार निर्माण आवश्यक छ, तर डर र आतंक फैलाउने काम स्वीकार्य छैन।’
जग्गा मूल्यांकन, क्षतिपूर्ति दर, वैकल्पिक बसोबास र व्यापार स्थानान्तरण योजना सम्बन्धी कुनै स्पष्ट जानकारी प्रशासनबाट नआएको भन्दै उनीहरुले न्यायसंगत प्रक्रिया र मुआब्जा सुनिश्चित नगरेको खण्डमा आन्दोलन अझ उग्र हुने चेतावनी समेत दिएका छन्।
व्यवसायी र घरधनीहरूले केही दिनभित्रै संयुक्त आन्दोलनको विस्तृत कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन्।